रौतहट गरुडा नगरपालिका दुईसातादेखी तालाबन्दी, असन्तुष्ट जनप्रतिनिधि र कर्मचारी धर्नामा


रौतहट । रौतहटका गरुडा नगरपालिकामा जनप्रतिनिधि बीच विवाद हुँदा करिब १४ दिनदेखि तालाबन्दी रहेको छ । फरक–फरक विषयमा असन्तुष्ट बनेका जनप्रतिनिधि र कर्मचारीहरुले गरुडा नगरपालिकामा तालाबन्दी गरेर कामकाज ठप्प पारेका छन ।
गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद कलवारले एकलौटी निर्णय गरेको र अन्य पदाधिकारीलाई निषेध गरेको भन्दै उपप्रमुखसहितले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन । उपप्रमुख पुनम चौधरीको नेतृत्वमा कार्यालयमा तालाबन्दी तथा धर्ना जारी छ । कार्यपालिकाको नियमित बैठक गर्नु पर्ने, नगरसभाका निर्णय सार्वजनिक गर्नुपर्ने लगायत मागसहित जनप्रतिनिधि नै आन्दोलित भएका हुन्।
गरुडा नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीले दैनिक सेवामा तालाबन्दी गरेर अवरोध गरेपछि सेवा ठप्प बनेको छ । पुसमा बसेको कार्यपालिकाको बारेमा जानकारी माग्दा नगरप्रमुख कलबारले केही दिनमा कार्यपालिका बैठकमा पेश गर्ने प्रतिबद्धता जनाएका थिए । तर, पेश नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको गरूडा नगरपालिकाका आन्दोलनरत पक्षका एक वडा अध्यक्षले बताए । तर कलवारले पटकपटक बार्ताकाे माध्यमबाट समस्या समाधान गर्न आग्रह गरे पनि बिभिन्न किसिमका बाहना बनाई उनलाई बदनामी गराउन खाेजीरहेको नगर प्रमुख कलवारले बताए ।























