धर्म–संस्कृति/रीतिथिति

रामग्राम- ४ मा छठी माताको मुर्ति शिलान्यास कार्यक्रम सम्पन्न

रामजी प्रजापती
२०८० माघ १ | मध्यान्ह ०८:१० बजे

नवलपरासी, माघ १ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. ४ जितपुरमा छठी माताको मुर्ति स्थापनाको लागी शिलान्यास गरिएको छ । विगतका दिनदेखि छठ पुजा मेला लाग्ने उक्त ठाउमा छठी माताको मुर्ति शिलान्यास गरिएको हो ।

विगतमा छठ पर्व कुनै एक समुदायले मनाउँदै आए पनि आजको दिनसम्म आइपुग्दा विभिन्न जातजाति, भाषाभाषीहरुले बृहतरुपमा मनाउँदै आइरहेकोले छठ पर्व राष्ट्रिय पर्वको रुपमा विकसित हुँदै आएको छ । छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा विभिन्न जातजाति तथा भाषाभाषीहरुले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।

नेपालमा विशेष रुपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक यो पर्व मनाइन्छ । हाल आएर राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजन किर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । यस पर्वमा मुस्लिम समुदायका व्यक्तिले पनि सहभागी जनाउने गर्दछन् र यो पर्व बिधिवत् मनाउँछन् । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन् ।

व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर, शुद्धशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीँकतै अशुद्ध नहोस् भन्नेमा व्रतालुहरु सजग हुन्छन् । शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास रहिआएको छ ।

त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्ने गर्दछन् । षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजा सामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ ।

छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ ।

छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन भाकल अनुसार घरबाट साँझ र बिहान घर्सिंदै (दण्ड प्रणाम) नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् ।

कतिले मनोकामना पूरा भएमा नाँच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले पनि वैज्ञानिक दृष्टिकोणले यसको महत्व निकै रहेको छ ।

सिलान्यास कार्य गाउलेद्वारा गरिएको निर्णय अनुसार आजको शुभ दिन पारेर रामग्राम ४ का वडा अध्यक्ष  मदन यादवको हातबाट मुर्ती शिलान्यास गरिएको चौथी प्रसाद कोहारले जानकारी दिनुभयो । उक्त सिलान्यास कार्यक्रममा वडा सदस्य शिव प्रसाद कोहार, स्मीती कुर्मि, गंगा लक्ष्मी हरिजन, मेला व्यवस्थापनका अध्यक्ष  मंदिप यादव, समाजसेवी राधेश्याम पटेल, दयाराम भर लगायत सम्पूर्ण गाउबासीका भलाभद्र पुरुष एवं महिला दिदीबहिनीहरुको उपस्थीती रहेको थियो ।

photo 2024 01 15 20 03 11

कमेन्टहरु