देश

गुल्मीमा गाई काटेको आरोपमा दुई जना पक्राउ

नवलपुर टुडे
२०७८ जेष्ठ २२ | मध्यान्ह ०१:०२ बजे

गुल्मी । गुल्मीमा गाई काटेको अभियोगमा दुई जना पक्राउ परेका छन् । तीन दिनअघि एक हल गोरु घनले हानेर मारेको घटना सेलाउन नपाउँदै जिल्लाको मालिका गाउँपालिकामै गाई काट्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारीले बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार तीन दिनअघि मालिका गाउँपालिका–२ को पाटाखर्कमा एक हल गोरु घनले हानेर मारेपछि पित्त झिकेको आरोपमा तीन जना पक्राउ परेका थिए । अहिले त्यही गाउँपालिका–१ लिलिङ्गका दुई जना युवालाई गाई काटेर मासु खाएको आरोपमा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा लिलिङ्ग गाउँका २४ वर्षिय रमेश श्रीस र २२ वर्षिय विमल घर्ती हुन् । जेठ १८ गते राति जङ्गलमा गाई काटेर मासु खाएको आरोपमा ती दुईलाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको शर्माले बताउनुभयो ।

स्थानीय गाउँकी हिरा पुनले तीन साताअघि ५ हजार रुपैयाँमा किनेर ल्याएको गाई छिमेकी कमला विकको गोठमा बाँधेर राखिएको र सोहि दिन राती जंगलमा लगेर काटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले बताउनुभयो ।

कमेन्टहरु