उपप्रधानमन्त्री राजेन्द्र महतो तानिए विवादमा, एमालेकै नेताद्धारा गम्भीर आपत्ती


काठमाडौ । नवनियुक्त उप प्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका छन् । उनको अभिव्यक्तिको नेकपा एमालेका नेता योगेश भट्टराईले विरोध गर्दै यस्ता अभिव्यक्ति विरुद्ध लगाम लगाउन प्रधानमन्त्रीलाई अनुरोध गएका छन् ।
नेता भट्टराई भन्छन् ‘पहिलो र दोस्रो संविधानसभा मै असान्दर्भिक भइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनु होला प्रधानमन्त्री ज्यु ।’उनले भनेका छन ।
संविधानले राष्ट्रको पारीभाषा गरिसकेको जनाउँदै उनी भन्छन् ‘संविधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ “बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक विशेषता भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” अर्थात विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।’























