देश, समाचार

हिमालय एयरलाइन्सलाले पायो आयोसा सर्टिफिकेट

जगत ठाडा मगर
२०८० पुस २४ | मध्यान्ह ०६:०९ बजे
फाइल तस्बिर

काठमाडौँ । हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरुप हिमालय एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको कम्पनीले जानकारी दिएको छ। गत डिसेम्बर २८ मा अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटिए)ले सन् २०२५ मार्च ३ सम्म मान्य हुने गरी हिमालय एयरलाइन्सलाई आयोसा प्रमाणीकरण गरेको हो।

यो उपलब्धीलाई हिमालय एयरलाइन्सले उड्डयन क्षेत्रको कोसोढुङ्गाको रुपमा लिएको यसबारे जानकारी दिन ‍ आयोजित पत्रकार सम्मेलनमा कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए।  ‘यो उपलब्धीले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्छ’, उनले भने, ‘हवाई सुरक्षामा नयाँ आयाम स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।’

यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्ड कायम राख्नका लागि कम्पनीको निरन्तर प्रयासलाई मात्र प्रमाणित गर्ने नभई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनिय वायुसेवा कम्पनीका रूपमा समेत स्थान दिने उपाध्यक्ष श्रेष्ठले बताए। उनले आगामी वर्षहरूमा पनि यस उपलब्धिलाई कायम राख्न कम्पनी प्रतिबद्ध रहेको पनि बताए।

सन् २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्सले हाल तीन एयरबस ३२०–२१४ र एक एयरबस ३१९–१४४ मार्फत मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनका पाँच सहरहरु बेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासामा उडान गर्दै आएको छ।

कमेन्टहरु