समाचार

चितवनको भरतपुरमा जुटको बोराभित्र भेटिएको दुई शवको सनाखत

नवलपुर टुडे
२०८० पुस २३ | मध्यान्ह ०१:०९ बजे

चितवन, पुस २३ । चितवनको भरतपुरमा जुटको बोराभित्र भेटिएको दुई वटा शवको सनाखत भएको छ । गत मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा महिला र पुरुषको शव भेटिएको थियो ।

मृतक दुवै जना भारतीय रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भारत मोतिहारीका उनीहरु चितवनको भरतपुरमा व्यापार गरेर बस्ने गरेका थिए । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको प्रहरीको भनाइ छ ।

अनुसन्धानको क्रममा हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ । उनी भारतकै प्रहरी नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको टोली भारतको बिहार पुगेको थियो ।

आरोपीको बयानको आधारमा यो घटना विवाहेत्तर सम्बन्धसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ । विवाहेत्तर सम्बन्ध थाहा पाएपछि महिलाका श्रीमानले भरतपुर बसपार्क नजिकै दुबै जनाको हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु