भारतबाट भन्सार छलि ल्याएको सर्जिकल सामाग्री तथा औषधीहरुसहित दुई जना पक्राउ


नवलपरासी, पुस २२ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ९ चण्डालटोलबाट अबैध रुपमा भन्सार छलि ल्याएको सर्जिकल सामाग्री तथा औषधीहरुसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार बिहान ४ बजे भारतबाट अबैध रुपमा ल्याएको सर्जिकल सामाग्री तथा विभिन्न प्रकारका औषधीहरुसहित गोरखाको गण्डकी गाउँपालिका वडा नं. ४ भेंडाबारी बस्ने वर्ष ३० का सुजन भन्ने विवेक पोख्रेल र बाग्लुङको बडिगाड गाउँपालिका वडा नं. ५ टारी बस्ने वर्ष २९ का अभिषेक खरेललाई पक्राउ गरेको हो ।
उनीहरु सवार प्रदेश नं.३ ०१-००२ च ८९९६ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त कार भित्र अन्दाजी मूल्य रू.२९,४९,०१७ बराबरको अवैध सर्जिकल सामाग्री तथा विभिन्न प्रकारका औषधीहरु ६ पेटी बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक बोहराका अनुसार बरामद गरिएको औषधी, मानिस तथा कारलाई नवलपरासीमा ल्याई राखिएको छ । उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको बोहराले जानकारी दिए ।























