अस्पतालले पैसा नलिई घर पठायो दुर्गाप्रसादलाई


इलाम, पुस २१ । उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् ।
भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीनमा उपचारका लागि भर्ना गरेका थिए ।
६ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा बन्धकझैं भएर अस्पतालमै बस्नु परेको थियो । परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनले उपचारमा भएको खर्च नलिई घर पठाएको हो ।
दुर्गाप्रसाद एक वर्ष नौ महिना सात दिन सो अस्पतालमा रहेको अस्पतालले जनाएको छ । उनी निको भएको ६ महिना भइसके पनि अस्पतालमा तिर्नुपर्ने करिब चार लाख १५ हजार नहुँदा घर जान पाएका थिएनन् ।
त्यसबारे विभिन्न सञ्चारमाध्यमहरूले समाचार प्रकाशन गरेपछि अस्पतालले उनले बुझाउन बाँकी रकम नलिई घर पठाएको अस्पतालका अध्यक्ष डा. गिरिराज भन्तानाले बताए ।
उनले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताए । ‘दुर्गाप्रसादमा देखिएको रोग सिजिफ्रेनिया हो,’ डा. भन्तानाले भने, ‘शत प्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।’
उनले दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको बताए । ‘६ महिनाअघि नै ठूलोबुबालाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको थियो,’ दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भने, ‘अस्पताललाई बुझाउने पैसा नभएपछि करिब ६ महिनादेखि अस्पतालमा बन्धकझैँ बन्नुभएको थियो, अस्पतालको छुटले राहत पायौँ ।’
दुर्गाप्रसादलाई २०७७ चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । दुर्गाप्रसाद २०३७ साल माघमा बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका थिए । २०७७ फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परेका थिए ।
विभिन्न सङ्घ–संस्थाको पहलमा उनलाई २०७७ चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो । इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो ।
कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो । उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार प्रदान गरेको थियो । उपचारपछि घर आएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो ।
लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिकरूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताए ।























