समाचार

सर्लाहीको बरहथवामा भोलिसम्म निषेधाज्ञा, कुनै किसिमको भेला, कार्यक्रम गर्न नपाइने

नवलपुर टुडे
२०८० पुस २१ | बिहान १०:०९ बजे
फाइल तस्बिर

सर्लाही, पुस २१ । सर्लाहीको बरहथवा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाही एक सूचना सार्वजनिक गर्दै आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सूचनामा बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुने उल्लेख छ । निषेधाज्ञा जारी भएको क्षेत्रमा कुनै किसिमको भेला, कार्यक्रम, राजनीतिक गर्न पाइने छैन ।

सर्लाहीको बरहथवामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शनको क्रममा प्रहरी र स्थानीयबिच भएको झडपमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो ।

मृतक जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै रहेको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएको जानकारी दिए । 

यस्तै शुक्रबार प्रहरीलाई गोली चलाउन आफूले आदेश नभएको प्रजिअ कोमलप्रसाद धमलाले बताए । त्यसबारेमा अहिले छलफल भएको र घटनाको छानबिनका लागि समिति बनाउने तयारी भइरहेको उनले बताए ।

sarlahi-1704510552.jpg

कमेन्टहरु