देश

प्रधानन्यायाधीश बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न तयार

नवलपुर टुडे
२०७८ जेष्ठ २१ | मध्यान्ह ०४:०२ बजे

काठमाडौ । सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकमा प्रधानन्यायाधीशले पेश गरेको बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन सम्बन्धी संसोधनको प्रस्ताव अहिलेलाई अघि नबढ्ने भएको छ । एक न्यायाधीशका अनुसार, प्रधानन्यायाधीशले बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने गरि उक्त इजलासको नियमावली संसोधन गर्ने प्रस्ताव ल्याएका थिए ।

तर न्ययाधीशहरूले बरिष्ठताका आधारमा न्यायाधीश नियुक्ति गर्न प्रधानन्यायाधीशलाई नियमावलीले कुनै वाधा नपारेको भन्दै संसोधन गर्न नपर्ने सुझाव दिए । त्यसपछि यो पाटो अहिलेलाई बन्द भएको छ । ‘हामीहरूले बरिष्ठताका आधारमा इजलास गठन गर्न नियमावली संसोधन आवश्यक नभएको भन्यौ।

बरू गर्नै परे पछि अदालतसम्बन्धी अरू नियमावलीसँगै गरौंला भन्ने कुरा भयो,’ उनले भने, ‘संवैधानिक इजलास बरिष्ठताकै आधारमा तोक्न, कसैगरि बरिष्ठ पाँच न्यायाधीशमध्ये कसैले हेर्न मिलेन वा विदा बसेको दिन भए रोष्टरमा भएकामध्ये त्यसपछिका बरिष्ठलाई समावेस गरे भैहाल्छ भन्ने कुरा भयो।’ प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दा हेर्न पनि प्रधानन्यायाधीशले बरिष्ठताकै आधारमा संवैधानिक इजलास तोक्न राजी भएका छन् ।

‘हामीले नियमावली संसोधन नगरेपनि बरिष्ठताकै आधारमा संवैधानिक इजलास तोक्न भनेपछि उहाँले ल त्यसै गर्नुपर्ला भन्नुभएको छ,’ ती न्यायाधीशले भने। केहीदिन अघि पनि संवैधानिक इजलासको रोष्टरमा भएका न्यायाधीशहरू प्रधाननन्यायाधीशलाई भेट्न गएका थिए। उनीहरूले वरिष्ठताकै आधारमा संवैधानिक इजलास गठन गर्न सुझाएका थिए।

आजको बैठकमा भने प्रधानन्यायाधीले ‘ल त नि त्यसै गर्नुपर्ला’ भनेर बरिष्ठताकै आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएको देखिन्छ।

संवैधानिक इजलासको रोष्टरमा प्रधाननन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन्।

यीमध्ये बरिष्ठ पाँच प्रधाननन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ छन्।

आइतबार पेशी रहेको प्रतिनिधिसभा विघटनको मुद्दा हेर्ने संवैधानिक इजलासमा कोको पर्लान त भन्ने अहिले आम चासो छ। केपी ओलीको पहिलो कार्यकालमा महान्यायाधीवक्ता रहेकाले उनैले गरेको विघटनको मुद्दामा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भन्दै पहिलो विघटनमा प्रश्न उठेको थियो। प्रश्न उठेपछि कार्की बाहिरिए। अहिलेको मुद्दामा पनि आफूलाई त्यही प्रश्न आउँने भन्दै उनले बस्दिन भनेदेखि बरिष्ठ पाँचपछिको छैटौं बरियताक्रमका न्यायाधीश खतिवडा संवैधानिक इजलासमा पर्छन्। बरिष्ठ पाँचमध्ये न्यायाधीश विश्वम्भर श्रेष्ठ विरामी भएकाले आइसोलेसनमा छन्। उनी पनि अनुपस्थित भए सातौं बरियताका आनन्दमोहन भट्टराई पर्ने छन्।

त्यसरी इजलास गठन गरे प्रतिनिधिसभा विघटनको मुद्दा हेर्न प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा ढुंगाना, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईलाई राख्नुपर्ने छ ।

कमेन्टहरु