राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान


काठमाडौं, पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रका)का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन् । मलेसियाको क्वालालम्पुरमा पार्टीसम्बद्ध प्रवासी नेपाली एकता समाजको भेलामा सहभागी हुन अध्यक्ष लिङ्देन बिहीबार राति मलेसिया प्रस्थान गरेका हुन् ।
कार्यक्रमको क्रममा लिङ्देनले मलेसियामा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रम गर्ने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । मलेसिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेतासमेत रहेका उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी सुम्पिएका छन् ।
मलेसियामा रहँदा अध्यक्ष लिङ्देनले जनवरी ६ तारिखमा किरात याक्थुङ चुम्लुङको आयोजनामा हुने ठुलो सङ्ख्याको किरॅाती समुदायको स्वागत ग्रहण गर्दै सम्बोधन गर्नेछन् । यसैगरी जनवरी ७ तारिखमा उनले होटल ग्राण्ड कन्टिनेन्टलमा हुने प्रवासी नेपाली एकता समाजको भेलालाई सम्बोधन गर्नेछन् ।
अध्यक्ष लिङ्देन पौष २४ गते स्वदेश फर्कनेछन् ।























