युवा नेता महेश बस्नेत गृहमन्त्री बन्दै, युवा पंक्तिमा खुसीयाली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् । ओली आजै नयाँ मन्त्रीहरुको नाम पक्का गरेर शपथ गराउने तयारीमा रहेको बालुवाटारनिकट स्रोतले छ।
आज जसपाबाट केही नेताहरुलाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएको हो । यसअघि माओवादी केन्द्र परित्याग गरी एमालेमा आएका नेताहरुले सम्हालेका सबै मन्त्रालय प्रधानमन्त्री ओलीले आफूसँगै राखेका छन् । प्रधानमन्त्री ओलीसँग अहिले गृह, उद्योग वाणिज्य तथा आपूर्ति, उर्जा जलस्रोत तथा सिंचाई, शहरी विकास, खानेपानी, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, मन्त्रालय छन् ।
जसपा स्रोतले दिएको जानकारीअनुसार नेता राजेन्द्र महतोलाई उद्योग वाणिज्य तथा आपूर्ति, अनिल झालाई शहरी विकास, शरतसिंह भण्डारीलाई उर्जा जलस्रोत तथा सिँचाई, विमल श्रीवास्तवलाई खानेपानी, उमाशङ्कर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।
बाँकी रहेको गृह मन्त्रालय भने प्रधानमन्त्री ओलीले एमालेका शक्तिशाली नेता युवा नेता महेश बस्नेतलाई दिन लागेको बुझिएको छ । सरकारविरुद्ध भ्रम चिर्न देशव्यापी साइबर सेना खडा गर्ने, अंकगणित अनुकुल बनाउन भूमिका खेल्ने, अफ्ठेरो पर्दा जस्तोसुकै प्रकारको पनि साथ दिने बस्नेत प्रधानमन्त्री ओलीको विश्वास पात्र समेत हुन् । उनी मन्त्रिपरिषदमा प्रधानमन्त्रीको रोजाइमा समेत परेका छन् ।
गृहमा आफ्ना विश्वासपात्र बस्नेतलाई ल्याउने ओलीको तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ । जसपाका मन्त्रीहरुसँगै बस्नेतको पनि सपथ हुने बताइएको छ । आशलाग्दो नेताका रुपमा छवि बनाएका युवा नेता बस्नेत गृहमा आउने भएपछि युवा पंक्तिमा खुसीयाली छाएको छ ।























