मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पिटी गरिरहेका प्रहरी जवानको मृत्यु


हेटौंडा, पुस १८ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका – ११ थानाभर्याङस्थित पूर्व पश्चिम सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
बुधबार बिहान पौने ७ बजेतिर हेटौंडाबाट नवलपुर जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले पिटी गर्ने क्रममा दौडिरहेका प्रहरी जवानको टोलीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
ठक्करबाट डडेल्धुरा आतिलाल गाउँपालिका – ६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडी गम्भीर घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा साढे ७ बजे मृत्यु भएको डिएसपी भण्डारीले बताए ।
यस्तै अन्य दुई जना प्रहरी जवान पनि घाइते भएका छन् । सोही गणमा कार्यरत प्रहरी जवान नवराज सार्कीको दायाँ हातमा र प्रहरी जवान विजय खत्रीको बायाँ खुट्टा, हातमा चोट लागेको छ ।
मोटरसाइकल अनियन्त्रित भई पिटी गरिरहेको प्रहरी जवानको टोलीलाई ठक्कर दिएको डिएसपी भण्डारीले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चालक हेटौंडा-४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा पनि घाइते भएका छन् ।
उनको टाउको र हातमा चोट लागेको छ । उनलाई पनि हेटौंडा अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।























