नवलपुरको मचेडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

नवलपुर टुडे
२०८० पुस १८ | बिहान ०७:०९ बजे

नवलपुर, पुस १८ । नवलपुरको बौदीकाली गाउँपालिका- १ मचेडीस्थित कालिगण्डकी करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
डेढगाउँबाट कावासोतीतर्फ आउँदै गरेको लु४६प २३८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकको साईडमा रहेको बिजुलीको पोलमा ठोक्किन जाँदा चालक मचेडी निवासी ५० वर्षीय खिम बहादुर ठाडा मगर र मोटरसाइकलमा पछाडी सवार वर्ष ५५ का रन बहादुर अस्लामी मगर घाईते भएका थिए ।
घाईते दुवैलाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाएकोमा पछाडी सवार रन बहादुरको साँझ ६:३० बजे डाक्टरले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक खिम बहादुरको भने अवस्था मध्यम रहेको र उनको थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















