कृषि

विस्तार हुँदै आलुखेती

रासस
२०८० पुस १७ | बिहान ०८:०९ बजे

मध्यविन्दु (नवलपरासी) । नवलपरासी९बर्दघाट सुस्तापूर्व०मा आलुखेतीप्रति किसान आकर्षित भएका छन्। जिल्लामा यस वर्ष तीन हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा आलुखेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए।

“गतवर्ष तीन हजार एक सय ७५ हेक्टरमा आलुखेती भएकोमा यो वर्ष ५० हेक्टर जमिनमा थप विस्तार भएको छ”, प्रमुख लामिछानेले भने, “गत वर्ष जिल्लामा ५७ हजार तीन सय ५४ मेट्रिक टन आलु उत्पादन भएको थियो।”

जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा देखिएको छ। “आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ”, उनले भने, “यो वर्ष पनि समय अनुकूल छ, आलु उत्पादन राम्रो हुने अनुमान छ।”

यसवर्ष आलु उत्पादन पनि बढ्ने केन्द्रको प्रारम्भिक अनुमान छ। कृषि ज्ञान केन्द्रसँगै स्थानीय तहले आलुखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलुखेती विस्तार हुँदै गएको हो। “जिल्लामा आलुखेती गर्ने किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ९२ लाखको कार्यक्रम सञ्चालन गरेको छ”, उनले भने।

नवलपरासी(बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी, हुप्सेकोट र बौदीकाली गाउँपालिका, कावासोती, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक आलु खेती गर्ने गरिएको छ।

कमेन्टहरु