मन्त्रीको गाडी आगजनी घटना: एक युवकको मृत्यु, एकको अवस्था गम्भीर


ललितपुर, पुस १३ । ललितपुरको बालकुमारीमा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडप भएको थियो । त्यहीँ झडपमा परेर करिब २३ वर्षीय सुजन राउत घाइते भएका थिए । उनको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।
राउत जुम्लाका हुन् । उनी भक्तपुर क्षेत्रमा बस्दै आएका थिए । राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । राउतको छातीमा निलडाम देखिएको अस्पताल स्रोतले जनाएको छ । राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो ।
यस्तै प्रदर्शनमा सहभागी एक युवकलाई प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ । उनको अवस्था गम्भीर रहेको र आईसीयूमा उपचार भइरहेको पाटन अस्पताल स्रोतले जनाएको छ ।
प्रदर्शनस्थलबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।























