ईप्रका पटेर्वा सुगौलीको सक्रियतामा ५ टयाक्टर अवैध बालुवा र करिब ३ टयाक्टर दाउरा बरामद


वीरगंज, पुस १२ । अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै पर्सा प्रहरीले पाँच वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । पर्साको भेडाहा खोलाबाट अवैध रुपले गिट्टी बालुवा उत्खनन् गरि लैजाँदै गरेको अवस्थामा पाँच वटा ट्रयाक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले बताए ।
भेडाहा खोलामा अवैध रुपमा बालुवा गिट्टी उत्खनन् भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले खटाएको प्रहरी चौकी मिलनचोकको प्रहरी टोलीले ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६, प्र २–०३–००१–४७४७ गरि पाँच वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ट्रयाक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक केशरीले बताए ।
त्यसैगरी, बिहीबार पर्सागढी नगरपालिका वडा नम्बर ७ फुलवरिया टोलस्थित नदि किनारकोे छठघाटमा छुट्टा–छुट्टै स्थानमा लुकाई छिपाई राखेको अवस्थामा करिब ३ टयाक्टर दाउरा बरामद भएको छ । ईलाका प्रहरी कार्यालय एकटाङ्गा, बिन्दबासीनी कोइलाभार बडनिहार साझेदारी वन गस्ती टोली र सब डिभिजन वन कार्यालय रङ्गपुरबाट संयुक्त रुपले खटिएको टोलीले सो दाउरा बरामद गरेको जनाईएको छ ।
बरामद दाउरा तस्करी गर्ने गिरोहको खोजी कार्य भईरहेको र बरामद गरिएको दाउरा आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको प्रहरी निरीक्षक केशरीले बताए ।























