नवलपुरको मध्यबिन्दुमा लागुऔषध सहित दुई जना पक्राउ

नवलपुर टुडे
२०७८ जेष्ठ २० | मध्यान्ह ०२:०२ बजे

नवलपुर । नवलपुरमा अवैध लागूऔषध सहित दुई जना युवा पक्राउ परेका छन् । मध्यबिन्दु नगरपालिका-१० स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ३ सय ट्याब्लेट, स्पास्मो ३ सय ९३ क्याप्सुल, डाईजेपाम १० एम्पुल, फेनरागन १० एम्पुल, नुफिन १० एम्पुल र नगद ४८ हजार ८२ रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मध्यबिन्दु नगरपालिका-१० बस्ने ३४ वर्षीय राकेश पाण्डे र सोही ठाउँ बस्ने २६ वर्षीय बिशाल पाण्डे रहेका छन् ।
बा.४० प ३९९३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध तथा नगद सहित पक्राउ गरेको हो ।
उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















