समाचार

सिराहाको एक होटलमा पुरूष मृत फेला, सँगै गएकी महिला पक्राउ

जगत ठाडा मगर
२०८० पुस ११ | मध्यान्ह ०४:०९ बजे

सिरहा, पुस ११ । सिराहाको मिर्चैयास्थित होटलमा एक पुरूष मृत फेला परेका छन् ।

मिर्चैयाको कटारी चोकमा रहेको ओखलढुङ्गे होटलमा बुधबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मुकेशप्रसाद कर्ण मृत फेला परेका हुन् । महिलासहित होटलमा बास बस्ने गरी उनले कोठा लिएका थिए ।

तर, कोठामा गएको १० मिनट नबित्दै महिला ‘मेरो राजालाई के भयो’ भन्दै तल झरेको होटेलका सञ्चालक विजय यादवले बताए । उनले भने, ‘महिला रोइकराई गर्दै आएलगतै हामी सबैजना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए । तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्‍यायौँ । तर, स्वास्थ्यकर्मीले मृत घोषित गरे ।’

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली घटनास्थलमा पुगेर ती सँगै रहेकी महिलालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

कर्णको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । अहिले उनको शव स्थानीय स्वस्थ्य संस्थामा राखिएको छ । घटनाबारे घर परिवारलाई खबर गरिएको र थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

कमेन्टहरु