दिलभुषण पाठकले कान्तिपुर छाडेसँगै नयाँ प्रधान सम्पादकमा विजय पौडेल नियुक्त


काठमाडौं, पुस ८ । कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठकले पदबाट राजीनामा दिँदै छन् । २०७८ भदौ १ गते कान्तिपुर टेलिभिजनको प्रधान सम्पादकमा नियुक्त भएका पाठकले राजीनामाको घोषणा गरेका हुन् ।
प्रधान सम्पादक पाठकले राजीनामाको घोषणा गरे पनि राजिनामा भने अझै बुझाउन बाँकी रहेको बताएका छन् । केही विषयहरू मिल्न बाँकी रहेको र व्यवस्थापन टिमले प्रतिबद्धता पूरा गर्नेबित्तिकै राजीनामा बुझाउने उनलेे बताए । उनको नेतृत्वमा कान्तिपुर टिभीमा दैनिक १४ वटा समाचार बुलेटिन र हप्ताको तीनवटा टक शो सञ्चालन हुँदै आएका थिए । उनी आफैंले सञ्चालन गर्ने ‘टफ टक’ लोकप्रिय टेलिभिजन कार्यक्रमका रूपमा मानिन्छ ।
यस्तै, पाठकले राजीनामाको घोषणा गरेसँगै कान्तिपुर व्यवस्थापनले नयाँ प्रधान सम्पादकको रूपमा विजय पौडेललाई नियुक्ति गर्ने तयारी गरेको छ । यसअघि कान्तिपुर टेलिभिजनमा कार्यक्रम सरोकार संचालन गर्ने पौडेलले २०७२ सालमा कान्तिपुर छाडेका थिए । पौडेल ८ वर्षपछि कान्तिपुरमै फर्किन लागेका हुन् । उनी कान्तिपुर जाने निश्चित भए पनि कहिलेदेखि हाजिर हुने टुंगिसकेको छैन । पौडेलले अब दुईचार दिनपछि आफूले काम सुरू गर्ने बताए ।
साथै कान्तिपुर टिभीको सम्पादकमा रूपेश श्रेष्ठलाई नियुक्त गरिएको छ ।























