गौशाला नगरपालिकाका उपप्रमुख चढने गाडीमा अज्ञात समूहद्वारा आगजनी


महोत्तरी, पुस ८ । महोत्तरीको गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा आगजनी भएको छ । उपप्रमुख महतो चढ्ने प्रदेश २–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडी अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
उपप्रमुख महतोको गौशाला – १ रामनगरस्थित घरको आँगनमा पार्किङ गरी राखेको गाडी शनिबार राती अज्ञात समूहले आगजानी गरेको हो । आगजनीबाट गाडीको पछिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । घरका परिवारले राति करिब २ बजेतिर गाडीमा आगो लागेको देखेपछि ईलाका प्रहरी प्रहरी कार्यालयलाई खबर गरेको उपप्रमुख महतोले बताए ।
खबर पश्चात ईलाका प्रहरी निरीक्षक मनोज यादवको कमाण्डमा राति नै प्रहरी घटनास्थल पुगेका थिए । घटनास्थलबाट डीयुको ठूलो बोतल फेला पारेको र बोतलबाट आएको गन्धको आधारमा आगजनी पेट्रोल छर्केर लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगजनी कसले र किन गरेको खुल्न नसकेको प्रहरी निरीक्षक यादवले जानकारी दिए । घटनाको स्थलगत मुचुल्का गरी सघन अनुसन्धान सुरु गरेको उनलेे बताए ।























