गण्डकी प्रदेश, देश

विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काट्यो

रासस
२०८० पुस ७ | बिहान १०:०९ बजे

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटेको छ ।

प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता म्याग्दीमा सो सङ्ख्याका ग्राहकको लाइन काटिएको हो।

केन्द्रका प्रमुख प्रताप बरालले लाइन काटेर चालु आर्थिक वर्षको पाँच महिनामा रु १८ लाख १२ हजार चार सय ५० बक्यौता असुल गरिएको जानकारी दिए।

एक सय ७७ ग्राहकबाट रु २२ लाख दुई हजार एक सय ९६ महसुल बक्यौता उठाउनुपर्ने थियो। लाइन काटेपछि रु एक लाख ४९ हजार चार सय ४९ जडान शुल्क उठेको छ।

केन्द्रअन्तर्गतका ग्राहकबाट रु ८१ लाख ८७ हजार नौ सय २९ बक्यौता असुल गर्न बाँकी छ। गत कात्तिक १२ गतेदेखि बक्यौता असुली अभियान सञ्चालन भएको थियो।

यसैगरी, बिजुली चोरी गरेका चार ग्राहकबाट रु एक लाख ३५ हजार एक सय ५६ रकम असुल भएको छ। नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत हाल २२ हजार एक सय ३० ग्राहक छन्।

विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६ औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ। मिटर रिडिङ भएको मितिले १६ औं दिनदेखि ३० औं दिनसम्म पाँच प्रतिशतका दरले र ३१ औं दिनदेखि ४० औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ।

मिटर रिडिङ भएको मितिले ४० औं दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१ औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६० औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ। लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ।

विनियमावलीको यही प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६० औं दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तानी नगर्ने उपभोक्ताहरूको चरणबद्धरूपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको प्राधिकरणले जनाएको छ। 

कमेन्टहरु