तस्कर

नवलपरासीको विभिन्न ठाउँबाट अवैध प्याज बरामद

नवलपुर टुडे
२०८० पुस ६ | मध्यान्ह ०२:०९ बजे
प्रतापपुर गाउँपालिका वडा नं. ५ धर्मौली र रेगैंयाको सिमानाबाट भारतिय नम्बर प्लेटको ON TEST ट्रयाक्टरमा ल्याउदै गरेको ९२ बोरा (४६०० के.जि.) प्याज

नवलपरासी, पुस ६ । पश्चिम नवलपरासीको विभिन्न ठाउँबाट प्रहरीले अवैध प्याज बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको प्याज बरामद गरेको हो ।

शुक्रबार बिहान प्रतापपुर गाउँपालिका वडा नं. ५ धर्मौली र रेगैंयाको सिमानाबाट भारतीय नम्बर प्लेटको अन टेस्ट ट्रयाक्टरमा ल्याउँदै गरेको ९२ बोरा (४६०० के.जि.) प्याज बरामद गरेको नवलपरासीका सूचना अधिकारी एवं डिएसपी रेशम बोहराले जानकारी दिए । उनका अनुसार प्याजको अन्दाजी मूल्य रू ३ लाख २२ हजार र ट्रयाक्टरको मूल्य रू.६ लाख तथा ट्रलीको २ लाख गरी कुल जम्मा ११ लाख, २२ हजार बराबरको सामान नियन्त्रणमा लिइएको छ । ट्याक्टर चालक भने फरार रहेको उनले बताए ।

यस्तै, पाल्हिनन्दन गाउँपालिका वडा नं.५ भगतपुराबाट पैदल ल्याइ जम्मा गरी राखिएको १८ बोरा (९०० के.जि.) प्याज बरामद गरिएको डिएसपी बोहराले जानकारी दिए । प्याजको अन्दाजी मूल्य रू.९० हजार बराबर रहेको र मानिस भने फेला नपरेको उनलेे बताए ।

बरामद गरिएको प्याज आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको र तस्करहरुको खोजीकार्य साथै थप अनुसन्धान कार्य जारी रहेको डिएसपी बोहराले जानकारी दिए ।

पाल्हिनन्दन गाउँपालिका वडा नं.५ भगतपुरास्थितबाट पैदल ल्याइ जम्मा गरी राखिएको १८ बोरा प्याज 

प्र.चौ. गेर्मी

कमेन्टहरु