रुसी सेनामा कार्यरत थप एक नेपालीकाे मृत्यु


काठमाण्डाै, पुस ४ । रुसी सेनामा कार्यरत थप एक नेपालीकाे मृत्यु भएकाे छ । परराष्ट्र मन्त्रालयले आज बुधबार प्रेस विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत नेपाली राहदानी भएका कुन्दनसिंह नागलकाे मृत्यु भएकाे जानकारी दिएकाे हाे ।
नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिककाे शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुन: अनुरोध गरेकाे मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपालीलाई तत्काल स्वदेश फर्काउन राजदूतमार्फत रुसी सरकारलाई पुन: अनुरोध गरेकाे मन्त्रालयले जनाएकाे छ ।
यस्तै, युक्रेनमा बन्दी भएका चार जना नेपाली नागरिकहरूलाई रिहाई गरी नेपाल फिर्ता पठाउन कुटनीतिक माध्यमबाट अनुरोध गरेकाे पनि मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार अहिले बर्दियाकाे राजापुर–१ का विवेक खत्री, काभ्रेकाे मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, माेरङकाे लेटाङ–६ का विकास राई र राेल्पाकाे रुन्टिगढी–८ का प्रतीक पुन युक्रेनको कब्जामा छन् ।

























