देश

सशस्त्र प्रहरीमा नौ हजार प्रस्ताव गरे पनि चार हजार दरबन्दी थपिने प्रक्रिया अगाडि बढ्यो

जगत ठाडा मगर
२०७८ जेष्ठ १८ | मध्यान्ह ०४:०२ बजे

काठमाडौं । बजेटमा बोर्डर आउट पोस्ट (बीओपी) थप्ने कार्यक्रम आएसँगै सशस्त्र प्रहरीमा चार हजार दरबन्दी थप्ने प्रक्रिया अगाडि बढाइएको छ । सशस्त्र प्रहरी मुख्यालयले गृह मन्त्रालय मार्फत ९ हजार जनशक्ति थपका लागि प्रस्ताव गरे पनि पहिलो चरणमा चार हजार थप्ने प्रक्रिया अगाडि बढाइएको छ ।

चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम बजेट वक्तव्यमा आएसँगै जनशक्ति पनि थप्न लागिएको हो । भारत र चीनसँगका सीमा सुरक्षामा सशस्त्र प्रहरी खटाइँदै आएको छ ।

ओएन्डएम (व्यवस्थापन तथा संगठन) सर्वेक्षण गरेर दरबन्दी थपको प्रक्रिया गृह मन्त्रालयले अगाडि बढाउने भएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बीओपी थपिएपछि दरबन्दी पनि थप हुनेछ । जनशक्ति कम भएका कारण नौ हजार थप गरी सीमा र जोखिम व्यवस्थापनमा पनि खटाउने तयारी अनुसार गृह मन्त्रालयमा मुख्यालयका तर्फबाट सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) शैलेन्द्र खनालले प्रस्ताव गरेका थिए । तर कोभिड संक्रमणको जोखिमका कारण उक्त निर्णय हुन सकेको थिएन । अब भने प्रक्रिया नै अगाडि बढाइएको छ ।

इन्स्पेक्टरको कमान्डमा हुने एउटा बिओपीमा ३५ जनाको दरबन्दी हुन्छ । धेरैजसो बिओपीमा ३० भन्दा थोरै प्रहरी कार्यरत छन् । पर्याप्त जनशक्ति नहुँदा अहिले नै बिओपीमा समस्या छ । एक सय २० बिओपीका लागि चार हजार दुई सय दरबन्दी आवश्यक हुन्छ । सशस्त्र प्रहरीको दरबन्दी ३७ हजार एक सय ३७ छ । अब सशस्त्र प्रहरीको बीओपी दुई सय २४ वटा पुगेको छ । डेढ वर्षअघि बिओपीको संख्या ८७ थियो ।

कालापानी क्षेत्रको सीमा विवाद पछि बिओपी थप्न थालिएको हो । सरकारले अबको दुई वर्षभित्र सीमामा पाँच सय बीओपी राख्ने तयारी पनि गरेको छ ।

कमेन्टहरु