बाजुरामा दुईवटा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु


धनगढी, पुस १ । बाजुरामा दुईवटा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
आइतबार साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुल जाने सडक अन्तरगत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्काेलाई ओभरट्याक गर्दा दुवै ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
एउटा ट्याक्टर खोलामा खसेको र अर्काे ट्याक्टर सडकको भित्तामा दुर्घटना ग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए ।
सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको छ । उक्त ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको डिएसपी बोहराले जानकारी दिए । यस्तै अर्काे लु ३ त ७३०५ नम्बरको ट्याक्टर पनि दुर्घटना भएर भित्तामा बजारिएको छ । सो ट्याक्टर दुर्घटनामा के कति क्षति भयो भन्नेबारेमा जानकारी प्राप्त हुन बाँकी छ ।
हाल प्रहरी टोली घटनास्थलमा खटेर उद्धारको काम गरिरहेको प्रहरीले जनाएको छ ।























