लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन जारी ४ मन्त्रीको मतदान रोक्न निर्वाचन आयोगमा निवेदन


बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनका लागि आइतबार मतदाता सूची सच्याएर अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई मतदानको अधिकार दिएपछि निर्वाचन आयोगमा निवेदन परेको छ ।
विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेले आयोगमा निवेदन दिएका हुन् । निर्वाचन आयोगले अन्तिम समयमा ४ जनालाई मताधिकार दिने निर्णयले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको भन्दै त्यसलाई कार्यान्वयन नगर्न माग गर्दै निवेदन दिएको माओवादीका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए ।
पार्टीले कारवाही गरेपछि जनता समाजवादी पार्टीका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए । पदमुक्त भएपछि उनीहरु सर्वोच्च अदालत गएका थिए । अदालतले अन्तरिमकालीन आदेश दिँदै पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोही आधारमा अन्तिम नामावली प्रकाशित हुँदा चार मन्त्रीहरुको नाम थिएन ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान जारी छ । एमालेबाट चन्द्रबहादुर खड्का र काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय सम्मिलित गठबन्धनबाट काँग्रेसका पाण्डेले उम्मेदवारी दिएका छन् ।






















