समाचार

बाराकाे सिम्राैनगढमा प्रहरीकाे गाेली लागेर घाइते भएका युवककाे मृत्यु

जगत ठाडा मगर
२०८० मंसिर २७ | मध्यान्ह ०६:०८ बजे

बारा, मंसिर २७ । बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीचको झडपमा गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

झडपलाई सामान्य बनाउने भन्दै प्रहरीले हवाई फायर गर्दा गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया विनको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो । उनको टाउकोमा गोली लागेको थियो ।

यस्तै झडपका क्रममा १० जना प्रहरीसहित अरू केही प्रदर्शनकारी घाइते भएका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिए । प्रहरीले ३० राउन्ड अश्रु ग्यास र २० राउन्ड हवाई फायर गरेको थियो । कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रको बा २ झ ४३५४ नम्बरको गाडीमा तोडफोडसमेत गरेका छन् ।

नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकले लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलन गर्दै आएका छन् । नगरपालिकामा नगरसभाका विषयमा भएको जनप्रतिनिधिबीचको विवादका कारण कर्मचारीले तलब–भत्ता पाउन नसकेका हुन् ।

आज बिहान नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत मिश्र सवार गाडी आन्दोलकारीले तोडफोड गर्ने तथा नगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गर्ने प्रयास गरेका थिए ।

कमेन्टहरु