बाराको सिम्रौनगढ नगरपालिकाका नगर प्रमुखको गाडी तोडफोड

जगत ठाडा मगर
२०८० मंसिर २७ | मध्यान्ह ०३:०८ बजे

बारा, मंसिर २७ । बाराको सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख चढ्ने गाडी तोडफोड भएको छ । बुधबार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिस्र चढेर कार्यालय जाने क्रममा गाडीमाथि तोडफोड भएको हो ।
आन्दोलनकारीहरूले नगर प्रमुखको गाडीमाथि ढुङ्गा प्रहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । विगत ५ महिनादेखि सिम्रौनगढ नगरपालिकाको स्थानीय नगर अस्पतालमा आकस्मिक सहितका सेवा बन्द छन् भने एक सातादेखि सामुदायिक विद्यालयहरूमा पठन पाठन ठप्प छ । सो नगरपालिकाका वडा कार्यलयहरु पनि बन्द रहेका छन् ।
सो नगरपालिकामा कानुनी रूपमा नगर सभा सम्पन्न हुन सकेको छैन भने नगरपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले ४ देखि १४ महिनाको सेवा सुविधा पाएका छैनन् ।























