समाचार

बुद्धका सिद्धान्त, विचार र दर्शन अहिले झन् बढी औचित्यपूर्ण भएको छ : प्रधानमन्त्री प्रचण्ड

जगत ठाडा मगर
२०८० मंसिर २६ | मध्यान्ह ०२:०८ बजे

नवलपरासी, मंसिर २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धका सिद्धान्त, विचार र दर्शन अहिलेको सन्दर्भमा झन् बढी औचित्यपूर्ण भएको बताएका हुन् ।

‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व रहिरहन्छ ।’ उनले भने ‘आजको सन्दर्भमा विश्वमा शान्तिको महत्त्व झन् बढ्न गएको छ ।’

प्रधानमन्त्री प्रचण्डले केहीअघि राष्ट्र संघका महासचिवको भ्रमणले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरलाई विश्वव्यापी बनाउन सघाउ पुगेको पनि उल्लेख गरे ।

उनले भने ‘मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रणा गरेको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ ।’

जलवायु परिवर्तनका कारण नेपालले खेपेको प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

कमेन्टहरु