२ लाख घुस लिएको आरोपपछि पोखराको न्यायिक समिति सदस्य श्रेष्ठले दिइन् राजीनामा


पोखरा, मंसिर २६ । पोखरा महानगरपालिकाको न्यायिक समिति सदस्य भावना श्रेष्ठले राजीनामा दिएकी छिन् । पोखरा महानगरपालिका वडा नं २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै २ लाख घुस लिएको आरोप लागेपछि श्रेष्ठले राजीनामा दिएकी हुन् ।
रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद न्यायिक समितिमा छ । उक्त विवाद मिलाइदिने भन्दै समितिको सदस्य रहेकी उनले २ लाखको चेक लिएको आरोप छ । श्रेष्ठले उपमेयर मन्जुदेवी गुरुङलाई समेत रकम दिनुपर्ने बताएकी थिइन् । गुरुङले उक्त आरोपको खण्डन गरेकी छिन् ।
विवादित भएपछि पोखरा वडा नम्बर ९ की वडा सदस्य श्रेष्ठले न्यायिक समितिबाट राजीनामा दिएकी छिन् । शनिवबार नै उनले फेसबुकको म्यासेन्जरबाट राजीनामा पत्र पठाएको बताइएको छ । विशेष परिस्थितिका कारण राजीनामा दिएको भनेर उनले पत्र पठाएको उपमेयर तथा न्यायिक समितिकी संयोजक गुरुङले बताइन् ।























