समाचार

उदयपुरमा भीषण आगलागी हुँदा अढाई करोड बराबरको क्षति

जगत ठाडा मगर
२०८० मंसिर २५ | मध्यान्ह १२:०८ बजे

काठमाडौं, मंसिर २५ । उदयपुरको गाईघाटमा आगलागी हुँदा अढाई करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

त्रियुगा नगरपालिका – ११ स्थित त्रियुगा नमूना माध्यमिक विद्यालय पछाडि रहेको राज अटो पार्ट्स पसलबाट विद्युत् सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण र पाँच पसलमा आंशिक क्षति भएको छ ।

आगलागीबाट राज अटो पार्ट्स पसल जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सोही आगलागीमा इजिकुल इन्जिनियरिङ सेन्टर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

महालक्ष्मी अटो पार्ट्सलगायत पसल पनि जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

आगो नियन्त्रणमा लिन सो क्षेत्रका सात पसल स्काभेटर लगाएर भत्काइएको थियो । आगलागीबाट ग्यारेजमा मर्मत गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाइकल तथा मोटर र लेथ मेसिनसहित विभिन्न यन्त्र–उपकरण जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयले त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको दमकलको सहयोगमा झन्डै डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो ।

कमेन्टहरु