पश्चिम नवलपरासीमा अबैध सामान एवं पशुचौपाया नियन्त्रण


नवलपरासी, मंसिर २४ । पश्चिम नवलपरासीमा भारतबाट अबैधरुपमा भन्सार छली ल्याएको सामान र पशु चौपाया प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार साझ ४:१५ बजे जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट संयुक्त रुपमा खतिगएको प्रहरी टोलीले सरावल गाउँपालिका- ७ स्थित झाडीमा लुकाई राखेको अवस्थामा २६ वटा खसी बोका सोको अन्दाजी मूल्य रु. ५ लाख ७२ हजार बराबरको फेला पारी नियन्त्रणमा लिइएको हो ।
त्यसैगरी, शनिबार साझ ७ बजे पाल्हिनन्दन गाउँपालिका- १ रमपुरवाबाट अबैधरुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएको विभिन्न प्रकारको मोबाइलका कभरहरु ६ सय पिस अन्दाजी मुल्य रु. १ लाख ५० हजार बराबरको सामान बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक बासुदेव वलीको कमाण्डमा खटिगएको गस्ती टोलीलाई देखेर उक्त सामान सोही स्थानमा फाली तस्कर भागेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।
उक्त बरामद सामान र खसी बोका महेशपुर भन्सार कार्यालयमा बुझाउने तयारी गरिरहेको र थप अनुसन्धान भैइरहेको बोहोराले जानकारी दिए ।























