रहेनन अन्नपूर्ण पोष्टका दोलखा संवाददाता रविन्द्र गौतम


काठमाडौं । अन्नपूर्ण पोस्ट्का दोलखा संवाददाता रविन्द्र गौतमको निधन भएको छ । नेपाल प्रेस युनियन दोलखाका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ दोलखाका कार्यसमिति सदस्यसमेत रहेका गौतमको कोरोना संक्रमणपछि उपचारको क्रममा निधन भएको हो ।
उनलाई उपचारको लागि दोलखाबाट एयरलिफ्ट गरेर काठमाडौं ल्याइएका थिए । ३८ वर्षीय गौतमको आइतबार नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि जेठ ९ गते चरिकोट अस्पतालबाट काठमाडौं ल्याई नयाँबानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचाररत गौतमको स्वास्थ्यमा थप समस्या आएपछि गए राति देखि भेन्टिलेटरमा राखिएको थियो ।
दोलखाको भिमेश्वर नगरपालिका-३ निवासी गौतम डेढ दशकदेखि पत्रकारितामा सक्रिय थिए । इमेज च्यानल, अभियान आर्थिक दैनिक, डिसी नेपाल डटकम, नवतरंग साप्ताहिकमा काम गरेका गौतम पछिल्लो चार वर्षदेखि अन्नपूर्ण पोस्ट्मा आवद्ध थिए । अन्नपूर्ण पोस्ट्को दोलखा सम्वाददाता रहेका गौतम रेडियो भिमेश्वरको स्टेशन म्यानेज थिए ।
गौतमका वृद्ध आमा, श्रीमती, ९ वर्षीया र ६ महिनाकी दुई छोरी छन् ।























