लमजुङमा सामूहिक भोज खाएका १ को मृत्यु, १८ जना बिरामी


लमजुङ, मंसिर २४ । लमजुङमा क्रिसमसको उपलक्ष्यमा सामूहिक भोज खाँदा १ जनाको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् । मृत्यु हुनेमा सुन्दरबजार नगरपालिका-९ की देवी परियार रहेकी छिन् । उनको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
शुक्रबार स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा सामूहिक भोज खाँएपछि उनीहरूलाई समस्या देखिन थालेको लमजुङ प्रहरीले जानकारी दिएको छ । भोजमा ३५ जना सहभागी भएकोमा १८ जनालाई समस्या देखिएको हो । बिरामीलाई सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।
सुरुमा घरेलु उपचार गरिएको तर उनीहरूको स्वास्थ्य स्थितिमा सुधार नभएपछि अस्पताल भर्ना गरिएको प्रहरीको भनाई छ । भोजमा सहभागीहरूले भात, दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताएका छन् ।
तर कुन खानामा समस्या आएको भन्ने खुलेको छैन । उनीहरूलाई पखाला र ज्वरो देखिएको अस्पतालले जनाएको छ ।























