महाराजगञ्ज भाटभटेनीबाट महानगर प्रहरीले हटायो प्लास्टिकको ‘क्रिसमस ट्री’

नवलपुर टुडे
२०८० मंसिर २३ | मध्यान्ह ०५:०८ बजे

काठमाडौँ, मंसिर २३ । काठमाडौँको महाराजगञ्जमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि राखिएको प्लास्टिकको क्रिसमस ट्री महानगर प्रहरीले हटाएको छ ।
प्लास्टिकबाट बनेका फूलका माला, रुख, लगायतका सामग्री प्रयोगमा निषेध गर्ने महानगरपालिकाको नीति अनुसार शनिबार महानगर प्रहरी बलले सो सुपरमार्केटमा पुगेर प्लास्टिकको रुख हटाएको सई राजेन्द्र गजुरेलले जानकारी दिए । यस्तै महानगरपालिका भित्रका अन्य स्थानहरूमा प्लास्टिकका सामग्री राखिएकोबारे नगर प्रहरीले अनुगमन गरिरहेको उनले बताए ।
शुक्रबार नगर प्रहरी बलले अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट, सिटी सेन्टर लगायतका ठुला सपिङ मलमा सजाइएका प्लास्टिकको रुख हटाएको थियो ।























