देश

केपि ओली सरकारको चुनाबीमुखी पाँच बजेट

नवलपुर टुडे
२०७८ जेष्ठ १५ | मध्यान्ह ०७:०२ बजे

काठमाडौ । सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो । आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएको बताए । त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधि उपचारको व्यवस्था गरिने भएको छ । ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा बापत आगामी आर्थिक बर्षका लागि १ खर्ब रुपैया विनियोजन गरिएको पनि उनले बताए ।

यसैगरी सरकारले १६ बर्ष माथिका विद्यार्थीका लागि निःशुल्क सीमकार्ड पनि दिने भएको छ । त्यस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ऋण दिने भएको छ । सार्वजनिक विद्यालय तथा क्याम्पसमा उच्च माद्यामीक र सो भन्दा माथिल्लो तहका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ ऋण दिने भएको हो । शिक्षामा वैकल्पिक सिकाइमा सहजीकरण गर्न सघाउ पुर्याउन सरकारले २ बर्ष सम्मका लागि १ प्रतिशत ब्याजमा ऋण दिने बजेट वक्तव्यमार्फत् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पनि सहभागी गराइने भएको छ । समाजिक सुरक्षाका विभिन्न कार्यक्रमका लागि १४ अर्ब रुपैया विनियोजन गरिएको छ । त्यसैगरी महिला, बालबालिका र जेष्ठ नागरिकका लागि १ अर्ब २० करोड रुपैया विनियोजन गरिएको छ । राष्ट्रपति महिला उद्यमी कार्यक्रम अन्तर्गतका कार्यक्रमलाई विस्तार गरिने, बालप्रज्ञा प्रतिष्ठान स्थापना गर्न, झापाको दमकमा चिल्डेन प्याराडाईज स्थापना गर्न र विभिन्न स्थानमा बालबालिकाको क्षमता अभिवृद्धिका कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छ ।

प्रत्येक जिल्लामा बालकल्याण अधिकारीको व्यवस्था गरिने भएको छ । त्यसैगरी ज्येष्ठ नागरिकका लागि अस्पतालमा अलगै वेडको व्यवस्था गर्ने लगायत कार्यक्रमहरु पनि सरकारले अघि सारेको छ । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी बर्ष २ लाख रोजगरी सृजना गरिने भएको छ । कार्यक्रमको लागि १२ अर्ब विनियोजन गरिएको छ । बैदेशिक रोजगारीबाट फर्केकालाई सिप मुलुक तालिम दिइने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तालिमका लागि ४० करोड विनियोजन गरिएको जानकारी दिए । यसबाट १ लाख रोजगारी सृजना हुनेछ । निजी क्षेत्रको सहकार्यमा उद्योगभित्र तीन महिनाको तालिम दिईनेछ । तालिमको लागि अनुदान दिईनेछ । यसबाट थप २५ हजार रोजगारी सृजना हुने अर्थमन्त्रीले बताए ।

कमेन्टहरु