अध्ययनका लागी जापान गएका बर्दियाका निरज चाैधरीलाई मस्तिष्क घात, उपचारमा आर्थिक अभाव


बर्दिया, मंसिर २१ । अध्ययनका लागि जापान गएका बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं २ पेरहनीका २१ वर्षीय निरज चाैधरीलाई मस्तिष्क घात भएकाे छ । गएकाे कात्तिक १ गते जापान पुगेका चाैधरी १८ औँ दिनमा अध्ययनरत कलेजको होस्टेलमा सुतिरहेको अवस्थामा मस्तिष्क रक्तस्राव भै अचेत अवस्थामा फेला परेका थिए ।
उनी अध्ययनरत कलेजमा अध्यापन गराउने शिक्षक नारायणप्रसाद बास्तोलाले जापानको साइटामा मेडिकल युनिर्भसिटी जनरल मेडिकल सेन्टरमा भर्ना गराइ आईसीयूमा उपचार गराइरहेको र उपचारको क्रममा सिकलसेल रोगसमेत देखिएको पारिवारिक स्रोतले जनाएको छ । सबै रोगको उपचार सम्भव रहेको तर खर्च धेरै लाग्ने अस्पतालले जनाएको छ ।
पारिवारिक स्थिति एकदमै कमजोर रहेकाले सम्पूर्ण मनकारी भावना भएका व्यक्तिहरुलाई आर्थिक सहयोगका लागि अनुरोध गर्दै ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को कार्यालयले सिफारिस गरेको छ । जापानमा बिरामी भएका छोराको उपचारका लागि आवश्यक पहल तथा समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय बर्दियामा पनि लिखित निवेदन दिएको निरजका बुवा जीतबहादुर थारुले बताए ।
नेपालबाट निरजको उपचारमा खर्च रकम जोहो गर्न र उपचार गर्नसमेत कठिनाइ भएकोले स्वास्थ्य उपचारका लागि आवश्यक समन्वय गरी छोराको आवश्यक उपचार सरकारका तर्फबाट जापानमै गरिदिनका परराष्ट्र मन्त्रालय मार्फत जापानस्थित नेपाली राजदूतावास, एनआरएन र अन्य संघसंस्था लगायत सम्बन्धित सरोकारवाला निकायहरुमा सहयोग गरिदिन जीत बहादुरले अनुरोध गरेका छन् ।
साथै सहयोग गर्न सहयोगी हातहरुले बुवा जितबहादुर चौधरीको मोवाइल नम्बर ९८६९५१९१३१ अथवा ९८४८१२७७९४ मा सम्पर्क गरी ग्लोबल आई एम ई बैंक खाता नम्बर : क्यु ९०७०१०००१३३४ जम्मा गर्न परिवारको आग्रह छ ।
























