समाचार

गोलबजार नगरपालिकाले भन्यो – बजार व्यवस्थापनमा १२ लाख खर्च भएको छैन, समाचार भ्रामक छ

जगत ठाडा मगर
२०८० मंसिर २० | बिहान ११:०८ बजे

सिरहा, मंसिर २० । सिरहाको गोलबजार नगरपालिकाले बजार व्यवस्थापनका नाममा भ्रष्टाचार भएको भनी आएको समाचारको खण्डन गरेको छ । नगरपालिकाले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै दावानल अनलाइनमा आएको उक्त समाचार भ्रामक र आधारहीन रहेको जनाएको छ ।

गोलबजारमा राजमार्ग छेउमै लाग्दै आएको बजार व्यवस्थापनका नाममा नगरपालिकाले १२ लाख खर्च गरेको र बजार व्यवस्थापन पनि हुन नसकेको समाचारमा दावी गरिएको थियो । तर, नगरपालिकाले ४ लाख ८५ हजार ३ सय ७० रुपैयाँ मात्रै खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

नगरपालिकाको विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यमा हामीले नगरपालिकाका कर्मचारी, सुरक्षा निकाय, उद्योग वाणिज्य संघको सहयोगसहित स्वयंसेवक पनि परिचालन गरेका थियौं । यस क्रममा खर्च हुनु पनि स्वभाविक हो । झन्डै दुई महिनासम्मको निरन्तरको सक्रियतापछि बजार व्यवस्थापनमा हामी सफल भएका थियौं ।’

यस्तै विज्ञप्तिमा बजारमा पछिल्लो समय फेरि पुरानै समस्या देखिन थालेको र यसको समाधानका लागि पनि नगरपालिका क्रियाशील रहेकोे जनाइएको छ । ‘यसको समाधान हाम्रो एकल प्रयासले मात्रै सम्भव हुन्न,’ विज्ञप्तिमा लेखिएको छ, ‘यो समस्या अन्त्यका निम्ति नागरिकले पनि यसलाई साझा विषय बुझिदिनुपर्छ ।’

सञ्चार जगत समाजको ऐना रहेकोे, समाचार सम्प्रेषण गर्दा सत्य-तथ्य प्रकाशन गर्नु सञ्चार जगतको धर्म रहेको भन्दै तथ्य नै नबुझी निराधार सामग्री प्रकाशन गर्नु उपयुक्त नहुने पनि नगरपालिकाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तो गतिविधिले पत्रकारिताप्रतिको आमविश्वासमा ह्रास ल्याउने भन्दै संयम भएर तथ्यका आधारमा पत्रकारिता गर्न सञ्चारकर्मीलाई नगरपालिकाले सुझाब दिएको छ । यस्तै, आम नागरिकहरूलाई पनि भ्रमपूर्ण समाचारहरूप्रति विश्वास नगर्न नगरपालिकाले आग्रह गरेको छ ।

कमेन्टहरु