समाचार

सुनजस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट दुईजना पक्राउ

जगत ठाडा मगर
२०८० मंसिर १९ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं, मंसिर १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६, बालाजुका ४० वर्षीय संगीत केसी र ४२ वर्षीया सुनीता श्रेष्ठ केसी रहेका छन् ।

सुनजस्तो देखिने धातु करिब १८६ ग्रामसहित गए राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । जाँच गर्ने क्रममा संगीतको साथबाट करिब ९५ ग्राम तौलको सुनजस्तो देखिने धातुका सिक्री दुईथान र औँठी एकथान बरामद गरिएको थियो । सुनीताको साथबाट ९१ ग्राम तौलको सुनजस्तो देखिने धातुका सिक्री दुईथान बरामद गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

कमेन्टहरु