सीआईडीमा ‘इन्स्पेक्टर फ्रेडरिक’को भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन


मुम्बई, मंसिर १९ । भारतीय च्यानल सोनी टिभीको चर्चित कार्यक्रम सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ । यो कुराको पुष्टि दिनेशका साथी र को-स्टार दयानन्द शेट्टीले गरेका छन् ।
दयानन्द शेट्टीले सीआईडी शोमा इन्स्पेक्टर दयाको भूमिका निभाएका थिए । दयानन्दले भने, ‘दिनेश लामो समयदेखि बिरामी थिए । उनलाई हृदयाघात भएको थिएन । स्वास्थ्यमा केही समस्या थियो । उनी आफै अस्पताल गएर भर्ना भए । भर्ना भएपछि उपचार गर्न थालेपछि अन्य जटिलताहरू देखिन थाले ।’
रिपोर्टका अनुसार ५७ वर्षीय दिनेशको मृत्युको कारण मल्टिपल अर्गेन फेलियर भनिएको छ । उनले सोमबार राति करिब १२ बजे मुम्बईको तुङ्गा अस्पतालमा अन्तिम सास लिए । उनको अन्तिम संस्कार मंगलबार दिउँसो मुम्बईको बोरिवली इस्टमा गरिने छ ।
दिनेश फडणीसले सन् १९९८ मा सुरु भएको टेलिभिजन कार्यक्रम सीआईडीबाट विशेष पहिचान पाएका थिए । सुरुका केही एपिसोडहरूमा उनले कठोर पुलिस इन्स्पेक्टर फ्रेडरिक्सको भूमिका खेले । यद्यपि पछि उनी हास्य कलाकारको रूपमा परिचित हुन थाले ।
यो शो सन् २०१८ सम्म सोनी टिभीमा प्रसारण भएको थियो । कोभिड लकडाउनको समयमा पनि, सीआईडीका केही एपिसोडहरू पुनः प्रसारण गरिएको थियो । टिभी शो बाहेक, दिनेश मराठी फिल्महरूमा काम गरेका छन् ।























