आर्मी र मधेशबीच केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिडन्त


पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशले प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरा रंगशालामा बिहीबार भएको सेमिफाइनलमा जित निकाली दुवै टोली फाइनल प्रवेश गरेका हुन् । उपाधि भिडन्त शुक्रबार (आज) हुनेछ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई चार विकेटले हरायो । अर्को खेलमा मधेशले राष्ट्रिय टोलीका खेलाडीले भरिएको नेपाल एपिएफ क्लबमाथि ११ रनको रोमाञ्चक जित निकाल्यो । पहिलो सेमिफाइनलमा बागमतीले सुरुवाती ब्याटिङ गर्दै २० ओभरमा सात विकेटको क्षतिमा १२७ रनको योगफल तयार ग¥यो ।
लामो समयपछि घरेलु क्रिकेट खेलेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बागमतीको कप्तानी गरेका थिए । उनले आर्मीविरुद्धको ब्याटिङमा दुई विकेट हात पारेका थिए । पहिलो ब्याटिङ गरेको बागमतीका लागि प्रतीक श्रेष्ठले अर्धशतकीय इनिङ खेलेका थिए । उनले ५० रन बनाउन ३५ बलमा तीन चौका र चार छक्का प्रहार गरे । कप्तान सन्दीपले २२ बलमा दुई चौका र एक छक्कासहित १९ रन बनाए । बागमतीको ब्याटिङमा चार खेलाडीले दोहोरो रन नै बनाउन सकेनन् ।
एपिएफमाथि मधेशको रोमाञ्चक जित
दोस्रो खेलमा मधेसले २० ओभरमा ६ विकेटको क्षतिमा १९७ रनको बलियो योगफल खडा गर्यो । एपिएफले २० ओभरमा नौ विकेट गुमाएर १८४ रन जोड्यो । मधेसका दुई ब्याट्सम्यानले अर्धशतक पूरा गरेका थिए । ओपनर अनिल शाहले ५७ रन बनाउन ३६ बलमा दुई चौका र ६ छक्का प्रहार गरे । इम्रान शेखले ३२ बलमा तीन चौका र चार छक्काको मद्दतमा ५० रन बटुलेका थिए । मधेशका पवन सराफले १९ बलमा चार चौका र दुई छक्काको सहयोगमा ३३ रन जोडे ।
एपिएफका ओपनर तथा कप्तान प्रदीप ऐरीले ५५ रनको इनिङ्स खेले पनि टोलीलाई फाइनल पुर्याउन सकेनन् । उनले ४२ बलमा तीन चौका र चार छक्का प्रहार गरेका थिए । आर्मीका सन्दीप जोराले ३१ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै ५४ रन बनाए । उनले अन्तिम समयसम्म एपिएफलाई जितको आशा दिलाएका थिए ।























