देश

गणतन्त्रको बिरोधी केपी ओली, सीपी मैनाली र राधाकृष्ण मैनाली

नवलपुर टुडे
२०७८ जेष्ठ १५ | मध्यान्ह ०१:०२ बजे

काठमाडौ । वामदेव गौतमले नाम नलिई एमालेका तीनजना नेता गणतन्त्रको विपक्षमा रहेको बताएका छन ।
वामदेव निकट एक नेताका अनुसार गौतमले ‘चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता’ भनेर केपी शर्मा ओली, सीपी मैनाली र राधाकृष्ण मैनालीलाई भन्न खोजेका हुन् ।

नेकपा एमालेले २०६२ साल साउनमा आयोजित बैठकबाट गणतन्त्रमा जाने औपचारिक निर्णय गरेको थियो । त्यतिबेला एमालेका राधाकृष्ण मैनाली एमाले छाडेर ज्ञानेन्द्रको मन्त्रिमण्डलमै सहभागी भइसकेका थिए । झापा आन्दोलनका अर्का अगुवा सीपी मैनालीले भने ०५६ सालअघि नै एमाले छाडेर माले पुनर्गठन गरिसकेका थिए । चर्चित झापा संघर्षका मुख्य नेता केपी ओली एकजना मात्रै एमालेमा बचेका थिए ।

एमालेको केन्द्रीय कमिटीमा तत्काल गणतन्त्रमा जाने संघर्षको नारा तय गर्नुपर्छ भन्ने प्रस्ताव राख्दाखेरि केपी ओलीले त्यसमा असहमति जनाएको तर नोट अफ डिसेन्टचाहिँ नलेखेको नेताहरु बताउँछन् ।

त्यसबेला महासचिव माधवकुमार नेपाललाई साहना प्रधान र वामदेव गौतम लगायतका नेताहरुले साथ दिएपछि गणतन्त्रको प्रस्ताव बहुमतबाट पारित भएको थियो । वामदेव गौतमले तयार पारेको प्रस्तावलाई अन्तिम रुप दिने जिम्मा माधव नेपालले ईश्वर पोखरेललाई दिएका थिए ।

कमेन्टहरु