धर्म–संस्कृति/रीतिथिति, मधेश प्रदेश

समाजमा सबै धर्मको सम्मान आवश्यक छ : पूर्व राष्ट्रपति यादव

जगत ठाडा मगर
२०८० मंसिर १३ | मध्यान्ह ०५:०८ बजे
पूर्व राष्ट्रपति डा. रामवरण यादव कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

जनकपुरधाम, मङ्सिर १३ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले समाजमा सबै धर्मको सम्मान आवश्यक भएको बताउनुभएको छ । सधै धर्मका मानिस मिलेर बसेमात्र समाज रुपान्तरण हुने उहाँको भनाइ छ । 

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका –१४ मुजेलियामा बुधबारदेखि सुरु भएको श्री १०८ शिवशक्ति महायज्ञको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले यस्तो बताउनुभएको हो । जुन ठाउँमा मान्छे मिलेर बस्दैन, त्यहाँ झैझगडा बाहेक केही नहुने उहाँले बताउनुभयो ।

3 13

इजरायलमा मुस्लिम र यहुदी धर्म मान्नेहरुविचमा अहिले लडाइ जारी रहेको चर्चा गर्नुभयो । १५ दिनमा १५ हजारभन्दा बढी मान्छेको ज्यान गएको र त्यसमा १० जना नेपालीले समेत बलिदानी दिनुपरेको उहाँले बताउनुभयो । आफू जन्मेको समयमा विश्वको जनसंख्या करिव तीन अर्व रहेको र अहिले सो जनसंख्या आठ अर्व पुगेको उहाँले बताउनुभयो । पूर्व राष्ट्रपति यादवले नेपालको जनसंख्या तीन करोड हुँदा विगतभन्दा उत्पादन घटेकाले ८० प्रतिशत अन्न बाहिरबाट आयात भइरहेको बताउनुभयो । उत्पादन बढाउन नसके मुलुकमा समस्या पर्दै जाने उहाँको भनाइ छ । 

चुरेको संरक्षण नगरिए यस क्षेत्रमा पानीको साथसाथै अन्नको पनि संकट आउनेभएकाले चुरिया संरक्षणका लागि तीनै तहका सरकारले ठोस कामकाज गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि चुरिया क्षेत्रमा बसोबास गर्ने आम नागरिकको भूमिका महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलले जनकपुरधाम युगौंयुगदेखि जपतप गर्ने स्थान भएको भन्दै यस प्रकारको यज्ञले मानवको कल्याण हुने बताउनुभयो । स्थानीय आयोजक समितिका अध्यक्ष प्रमोदकुमार रायको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगरप्रमुख लालकिशोर साह, एमालेका नेता सन्तोष यादव, स्थानीय वडाअध्यक्ष पुण्यप्रताप यादवसहितकाले बोल्नुभएको थियो । 

4 8

सात दिनसम्म चल्ने सो महायज्ञमा प्रत्येक दिन कथा वाचनका साथै भगवानले गरेका विभिन्न लिलाहरु प्रदर्शन गरिने कार्यक्रम रहेको मेला आयोजक समितिका सदस्य समेत रहेका यादवले जानकारी दिनुभयो । 

कमेन्टहरु