मोरङको उर्लाबारी आगलागी: नियन्त्रणका क्रममा घाइते भएका मध्ये पाँच जनाको मृत्यु


मोरङ । मोरङको उर्लाबारीमा लक्ष्मी पूजाको रात आगलागी नियन्त्रणका क्रममा घाइते भएका मध्ये पाँच जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति साढे ११ बजे काठमाडौंस्थित बर्न अस्पतालमा उपचाररत ४३ वर्षिय रामनरेश मरिताको मृत्यु भएको हो ।
मधेश प्रदेशको धनुषास्थित जानकीनन्दनी गाँउपालिका घरभएका मरिता आगलागि नियन्त्रणका क्रममा गंभीर घाइते भएका थिए । उर्लाबारी नगरपालिकाको बरगाछीमा रहेको सुनचादीको पसलमा आगलागि भएको थियो ।
सोही क्रममा घाइते भएर उपचारका लागि काठमाडौ पुराएका मध्ये आगलागि भएको घरधनिका मालिक ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको उपचारकै क्रममा मृत्यु भइसकेको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब निरिक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
आगलागी नियन्त्रणका क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएकाे उनले बताए । आगलागीबाट ३ करोड ४१ लाखको क्षति भएको प्रहरीको अनुमान छ ।























