आर्थिक वर्ष २०७८/०७९ को बजेट आज आउँदै


काठमाडौं । संघीय सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज आउँदै छ । जेठ १५ गते बजेट ल्याउने संवैधानिक मान्यता अनुसार आज बजेट आउन लागेको हो ।
संसद नभएकोले केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउन लागेको छ । स्रोतका अनुसार अर्थमन्त्रालयले पूर्ण आकारको बजेट ल्याउने छ ।
उक्त बजेट चालु आर्थिक वर्षको भन्दा केही ठूलो हुने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ मा १४ खर्ब ७४ अर्ब रूपैयाँको बजेट विनियोजन भएको थियो । यस अनुसार करिब १५ खर्बको आसपासमा बजेट आउन सक्ने अनुमान गरिएको छ ।
जसमा अधिकांश कार्यक्रम कोभिड केन्द्रित हुनेछन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को समस्यालाई केन्द्रमा राखी बजेट ल्याउन लागिएको अर्थमन्त्रालयले बताएको छ । आगामी आर्थिक वर्षमा सरकारलाई कोभिड १९ को महामारी, प्रतिनिधिसभा निर्वाचन, राजनीतिक अस्थिरता, अर्थतन्त्रको पुर्नउत्थान मुख्य चुनौतिका रुपमा रहेका छन ।
यद्यपि विपक्षी दल लगाएत जानकारहरुले भने अध्यादेश मार्फत पुर्ण बजेट ल्याउन हतारो नगर्न सरकारलाई आग्रह गरिसकेका छन । संविधानमा गरिएको व्यवस्था र अहिलेको अवस्था फरक छ । अध्यादेश मार्फत आउने बजेटसम्बन्धी संविधानले कल्पना पनि गरेको छैन ।
त्यसैले जानकारहरुले कामचलाउ सरकारले जेठ १५ मा बजेट ल्याउन मिल्छ कि मिल्दैन ? बजेट ल्याउने प्रक्रिया, बजेटको आकार सम्बन्धमा छलफल भइरहेको छ । यदि सरकारले बजेट चुनावमुखी गरेमा यो विषय सर्वोच्च अदालतसम्म पुग्न सक्छ ।
तर, सरकार कन्फिडेन्सका साथ बजेट ल्याउने अन्तिम तयारीमा छ । सरकारले बजेटको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत नगरेर बजेटसम्बन्धी संवैधानिक र कानुनी मान्यता विपरीत काम गरीसकेको छ ।























