कैलालीमा कुटपिट गरी हत्या गरेको आरोपमा चार जनालाई पक्राउ


कैलाली । कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–४ बसपार्कको प्रतिक्षालयमा युवकको शव फेलापरेपछि प्रहरीले सीसीटीभी फुटेजका आधारमा चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकका १८ वर्षीय दीपेन्द्र भनिने दीपान्सु पौडेल, डडेलधुरा अमरगढी घर भई कञ्चनपुर भिमदत्त नगरपालिका–३ का १९ वर्षीय प्रविण ऐर, डोटी पूर्वी चौकी गाउँपालिका–४ का २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगरपालिका–१ का १८ वर्षीय युवराज शाही छन् । मृतकको पहिचान भने अहिलेसम्म हुन नसकेको प्रहरीले जनाएको छ ।
मृतक युवा सुतिरहेको अवस्थामा निजको खल्तीबाट पैसा लुटेर लगेको र कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक गहुगोरो वर्णको उचाई ५ फिट ६ इन्छ, बाँया हातको पाखुरामा नागको ट्याटु खोपेको, माथिल्लो शरीरमा टाटेपाटे भेष्ट लगाएको र तल्लो शरीरमा निलो रंगको जिन्स पाइन्ट लगाएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्दा चलाएको छ ।























