पोखरामा ल्याइएका ७ वटा मुर्रा राँगालाई फूलमालासहित स्वागत


पोखरा, मंसिर ९ । भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइपुर्याइएको छ ।
नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ ।
भारतले दिएको १५ वटामध्ये ७ वटा पोखरा ल्याइएको हो । पोखरा आइपुगेका राँगालाई शुक्रबार राति नै फूलमालासहित कार्यालयमा स्वागत गरिएको थियो । पोखरा ल्याइएका राँगाको बिर्य संकलन गर्नुअगाडि क्वारेन्टाइनमा राखिने प्रजनन कार्यालय पोखराका प्रमुख डा जगदीश पाण्डेयले जानकारी दिए ।
‘यहाँ ल्याइएका राँगालाई पहिलो चरणमा २१ दिन क्वारेन्टिनमा राखेर त्यसपछिमात्रै विर्य संकलनका लागि तयार हुनेछन्,’ उनले भने ।
गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । सोहीअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो ।
नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारीअनुसार मुर्रा प्रजातिको उन्नत नश्लको राँगा बुधबार नेपाल भित्रिएका हुन् । नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगा पोखरासहित नेपालगञ्जमा ३ वटा र लहानमा ३ वटा राखिएको छ ।























