धर्म–संस्कृति/रीतिथिति

रामग्राममा रहेका छठपूजाका व्रतालु धमाधम छठघाटतर्फ प्रस्थान

नवलपुर टुडे
२०८० मंसिर ३ | मध्यान्ह ०४:०८ बजे

रामजी प्रजापति
नवलपरासी, मंसिर ३ । पश्चिम नवलपरासीको रामग्राममा छठपूजाका व्रतालु धमाधम छठघाटतर्फ प्रस्थान गर्नेक्रम सुरु भएको छ । नजिकको पोखरी, खोला, नदी, नहरलगायतका जलाशयमा निर्माण गरिएका छठघाटमा पूजा सामग्री बोकेर व्रतालु पुगिरहेका हुन् । 

सूर्यको आराधना गरी मनाइने छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ । त्यसका लागि व्रतालु र परिवारका सदस्य बाँसको ढाकीमा पूजा सामग्री– केरा, स्याउ, सुन्तला, पानी भएको नरिवल, शुद्धसँग बनाइएको विभिन्न परिकार बोकेर छठघाटमा पुग्न थालेका हुन् । व्रतालु अब आइतबार रातभर नै छठघाटमै जाग्राम बस्छन् । 

photo 2023 11 19 16 12 00

सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि यो वर्षको छठपर्व विधिवत् रुपमा समापन हुन्छ । प्रत्येक छठघाटमा छठ पर्वका गीत गुञ्जिएका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठपूजाका लागि रामग्रामका धेरै ठाउमा छठघाट निर्माण गरिएको छ । 

photo 2023 11 19 16 12 06

प्राकृतिक जलाशय नभएका स्थानमा जनश्रमदान तथा डोजर प्रयोग गरेर कृत्रिम पोखरी निर्माण गरी छठमाताको पूजा गर्नको लागि तयारी गरिएको छ ।

कमेन्टहरु