गण्डकी प्रदेश, धर्म–संस्कृति/रीतिथिति

नवलपुरको कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक तथा व्यापार महोत्सव सुरु (तस्बिरसहित)

नवलपुर टुडे
२०८० मंसिर १ | मध्यान्ह ०६:०८ बजे

नवलपुर, मंसिर १ गते । नवलपुरको कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । नेपाल मगर सङ्घ, नवलपुरको आयोजनामा सुरु भएको महोत्सव मङ्सिर ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो ।

जिल्लामा पहिलो पटक भएको महोत्सवमा मगरहरूको कला, संस्कृति, भाषा, भेषभुषाको संरक्षणका साथै स्थानीय उत्पादनको प्रदर्शनी र कृषि, पर्यटनको विकासमा टेवा गर्ने नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति नवलपुरका सचिव नम्सु मगरले बताउनुभयो । महोत्सवमा एकसय ५० वटा स्टल राखिएको छ । महोत्सवलाई विशेष झल्को दिनका लागि मगरहरूको पहिचान झल्कने प्रवेशद्वार, मगरहरूले परापूर्वकालमा प्रयोग गर्ने घरका नमुना, भाँडाकुँडाको प्रदर्शनी कक्ष राखिएको छ ।

त्यस्तै, मगर संस्कृतिभित्रको कौराहा (कान्राह) नाच प्रतियोगिता पनि हुनेभएको छ । आयोजकका अनुसार यो नै अहिलेसम्मकै सबैभन्दा ठुलो धनराशिको राष्ट्रिय प्रतियोगिता हो । जसको प्रथम पुरस्कार एक लाख रुपियाँ, दोस्रो पुरस्कार ६० हजार र तेस्रो पुरस्कार ४० हजार रहेको महोत्सवका सांस्कृतिक संयोजक देव गाहा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट १५ टोलीको सहभागिता रहनेछ । विधिवत् रूपमा नचाइने कौराहा नाचको सुरुवात नै मगर समुदायको बाहुल्यता रहेको गण्डकी प्रदेशबाट भएको मानिन्छ ।  

महोत्सवमा नवलपुर कल्चरल डान्स आइडलको रूपमा सबै जातजातिका सांस्कृतिक नाचहरू पनि प्रतियोगिताको रूपमा समावेश गराइने महोत्सवमा सांस्कृतिक संयोजक मगरले जानकारी दिनुभयो । त्यस्तै, महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका सोरठी, घाटु र झ्याम्रे नाच पनि देखाइने आयोजकको भनाइ छ ।

Magar Mahotsav 2080 1Magar Mahotsav 2080 6Magar Mahotsav 2080 8Magar Mahotsav 2080 12Magar Mahotsav 2080 9Magar Mahotsav 2080 5Magar Mahotsav 2080 7Magar Mahotsav 2080 11Magar Mahotsav 2080 13Magar Mahotsav 2080 15Magar Mahotsav 2080 3

 

कमेन्टहरु